घैरुङ । जिल्लाको शहिद लखन गाउँपालिकामा कोरोना भाइरस सङक्रमित विरामीहरुका लागि घरमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालिएको छ । स्वाव सङ्कलनको कामदेखि स्वास्थ्य सामग्री वितरण सम्मका गतिविधिमा स्वास्थ्यका कर्मचारी र प्रमुख प्रशासकीय अधिकृत सहित पालिका अध्यक्ष रमेश थापा मगर आफै पुग्छन् ।
आज विहानै पनि अध्यक्ष थापा कोभिड संक्रमितको घरदैलोमा पुगेर स्वास्थ्य कीट बितरण गरेका छन् । जिंक चक्की, भिटामिन सि, सेतो पलाति, ईम्युनोकियर, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री लिएर विरामीको घरघरमा पुगेका हुन् । अघिल्लो साल दाताहरुले दिएका बाँकी रहेका र नपुग खरिद गरेर गाउँपालिकाले होम आइसोलेसनमा बसेका विरामीहरुका लागि सामग्री प्रदान गरेका हुन् ।
पालिकालाइ यस अघि स्वाँरा सघन गाउँ विकास केन्द्रले स्वास्थ्य किट उपलब्ध गराएको र त्यहिँ किट केही थान बाँकी रहेको पालिकाले जनाएको छ । शहिद लखनमा आजका दिन सम्म होम आइसोलेसनमा रहने विरामीहरुको सङ्ख्या महिला १५ र पुरुष ३१ गरी ४६ जना रहेका छन् । उनीहरु सबैलाइ स्वास्थ्य किट प्रदान भएको हो । पालिकामा घर भइ सङक्रमित भएकाहरुको सङ्ख्या महिला २८ र पुरुष ४९ गरी ७७ जना रहेका छन् ।
पिसिआर परीक्षणको क्रममा पालिका भित्र गरिएको स्वाव सङ्कलनमा महिला १४ र पुरुष २१ जनामा कोरोना सङक्रमण पुष्टि भएको थियो । बाहिर विभिन्न अस्पतालमा भएको परीक्षणमा १४ जना महिला र २८ जना पुरुष सङक्रमित भएका थिए । पालिकाले हाल सम्म कन्टयाक्ट ट्रेसिङ ६१ महिला र ६८ पूरुष, होम आइसोलेसन ट्रेसिङ १ महिला र ३ पूरुष पालिका भित्र ३९ महिला र ३५ पूरुष गरी १०१ जना महिला र १०६ जना पुरुष गरी २०७ जनाको पिसिआर परिक्षण गरिएको गाउँपालिका अध्यक्ष रमेश थापाले जानकारी दिए ।
पालिका भित्रका नौ वटै वडामा भित्रिने मानिसहरुको बारेमा शुक्ष्म जानकारी लिने गरिएको छ । पालिका स्थित स्वास्थ्य शाखाले पिसिआर गर्न आवश्यक लागेका नागरिकहरुको स्वाव सङ्कलन गर्ने र पिसिआर परिक्षणको नतिजा लिने गर्दछन् ।








