काठमाडौं । संघीय सांसदहरु र कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । गत फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिन सुरु गरिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले कोभिसिल्ड खोपको दोश्रो मात्रा लगाएर शुभारम्भ गरे । बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाइने सचिवालयले जनाएको छ ।
त्यसैगरी भोली शनिबार संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु,अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँ बानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई र आईतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासँग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोपको दोश्रो डोज लगाइने छ ।








