हेटौंडा । बागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा काेराेना संक्रमितकाे ज्यान जोखिममा परिरहेको अबस्थामा अक्सिजन सिलिण्डर संकलन गरी वितरण गर्दै आएकाे छ । हालकाे जाेखिमकाे अवस्थालाई मध्यनजर गर्दै अक्सिजन संकलन कार्य अभियानको रुपमा संचालन गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
यसैक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडा र मातहतका कार्यालयद्वारा हाल सम्म ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरी वितरण गरिएकाे छ । विभिन्न उद्योग, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा ब्यक्तीहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गरेर बिरामीको उपचारमा सहयोग गरिएकाे बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राज कुमार सिलवालले जानकारी दिए ।
बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट हालसम्म १ सय २९ थान भरी र ५ सय ४१ थान खाली गरी जम्मा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको प्रहरी उपरीक्षक सिलवालले बताए । संकलित सिलिण्डरहरु सम्बन्धित जिल्लाहरुमै प्रयोग गर्न ब्यवस्थापन गरिएको छ भने अत्यावश्यक महसुस गरिएका अन्यन्त्र स्थानहरुमा समेत सहयोग गर्न सकिने केही सिलिण्डरहरु उपलब्ध गराउने गरिएको छ ।
संकलित अक्सिजन सिलिण्डरहरुलाई सम्बन्धित जिल्लाको निर्णय अनुसार आवश्यकताको आधारमा बिभिन्न अस्पताल, आईसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने कार्यलाई अघि बढाएको सिलवालले जानकारी दिए । हालसम्म कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी काठमाडाैंलाई १० थान भरी र ४० थान खाली सिलिण्डर उपलब्ध गराईएको छ । स्वर्गद्धारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिङ हाईवे अस्पताललाई गरी ३६ थान भरी तथा ९० थान खाली अक्सिजन सिलिण्डर उपलब्ध गरिएकाे प्रहरी उपरीक्षक सिलवालले बताए ।
अस्पतालहरुमा अक्सिजन सिलिण्डरको खपत समेत बढ्दै गईरहेकोले अस्पताल बाहेक अन्य विभिन्न प्रयोजनमा प्रयोग हुने सिलिण्डरहरुको संकलन गरी वितरण कार्य गरिएको हो । बढ्दो कोभिड–१९ को संक्रमणसंगै पछिल्लो समयमा कोभिड–१९ बाट संक्रमितहरुलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युबरण गर्नु परेको घटनाहरु बढ्दै गईरहेकाले यो अभियान संचालन गरिएको सिलवालले जानकारी दिए ।








