चितवन । चितवन समाज क्यानडाले वढ्दो कोरोना महामारीविरुद्धको फन्ट लडाईमा खटिने स्वास्थ्यकर्मीहरुका लागि पीपीई सहयोग गरेको छ ।
आज भरतपुरको सरकारी अस्पतालमा एक कार्यक्रम गरि चितवन र गैँडाकोट जन्मथलो भई क्यानडामा बसोवास गर्दै आएका नेपालीहरुले पठाउनुभएको उक्त स्वास्थ्य सामाग्री अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीलाई समाजका प्रतिनिधि केशवप्रसाद सापकोटाले हस्तान्तर गर्नुभएको हो ।
सापकोटाका अनुसार पुन प्रयोग गर्न मिल्ने २५० थान पीपीई र २५० थान नै फेस शिल्ड सहयोग गरिएको हो । जन्मभूमिबाट टाढा रहेपनि यो महामारीमा संक्रमितसँगै रहेर उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुनै सुरक्षित भएनन् भने अझ कठिन समय आउन सक्नेतर्फ सचेत हुँदै यी सामाग्री सहयोग गरेको सापकोटाको भनाई थियो ।
विमला सापकोटा, ढुण्डी पाण्डे, पूर्ण कडेंल, देवेन्द्र सुवेदीको ठूलो सहयोग सहित अन्य दाताहरुको सक्रियताले सामाग्री सहयोग गर्न पाएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जन्मथलोबाट टाढा रहेर पनि स्व:स्फूर्त अस्पताललाई प्राप्त यो सहयोगले महामारी विरुद्ध लड्न थप हौसला मिलेको बताउनुभयो ।
‘हेल्थ हिरोज’हरुलाई मिलेको यो सामाग्रीले उपचारमा थप सहयोग मिल्ने र सामाग्री व्यवस्थापनमा निषेधाज्ञाले समस्या बनाइरहेको बेला प्राप्त पीपीइ र फेस शिल्डले उपचारमा सहज हुने बताउनुभयो । चिकित्सकलाइ जति धेरै संक्रमणबाट जोगाउन सक्यो त्यतिनै उपचारमा तिव्रता दिन सकिने र त्यसका लागि आज प्राप्त सामाग्रीले काम गर्ने डा अधिकारीको भनाई थियो ।
कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. जगन्नाथ तिवारीले अत्यन्त महत्वपूर्ण कार्यको थालनी गरेको भन्दै समाजप्रति आभार व्यक्त गर्नुभयो । अन्य व्यवस्थापन अस्पतालले गरिरहेको भएपनि महामारीमा धेरै स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पीपीई,फेस शिल्डको अभाव भइरहदा समाजको सहयोगले ठूलो राहत मिलेको बताउनुभयो ।
साथै यो महामारीमा धेरै सहयोगी मनहरु जोडिन आग्रह गर्दै कोरोना संक्रमितको थप उपचारका लागि वेड सख्या बढाइएको उहाँको भनाई थियो । कार्यक्रममा विजय विकास स्रोत केन्द्रका प्रेमप्रसाद सापकोटा राजु र अस्पतालका स्टोर प्रमुख विष्णुप्रसाद सापकोटाको उपस्थिती रहेको थियो ।








