चितवन । झण्डै एक महिनादेखिको निशेधाज्ञाका कारण चितवनका दाना तथा औषधीजन्य उद्योग संकटमा पर्न थालेका छन । बिशेषतः यस्ता उद्योगहरुलाई चाहिने कच्चापदार्थ भारत तथा तेस्रो मुलुकमा निर्भर हुने हुंँदा यसको असर यस्ता उद्योगमा परेको हो । अब पुनः एक हप्ता निशेधाज्ञा थपिएमा सबै कच्चा पदार्थको मौज्दात सकिने उद्योगीहरुले बताएका छन । हाल कच्चा पदार्थको आयात सहज नभएको र मुल्यबृद्धि हुंँदा थप समस्या झेल्नु परेको उनीहरुको भनाई छ ।
अनमोल फिड्स प्रालि नारायणगढका प्रबन्ध निर्देशक शंकर कंडेल अब एक साता निशेधाज्ञा थप भए पूर्णरुपमा उद्योग बन्द गर्नुपर्ने अवस्था आउने बताउंँछन । ‘अबको एकसाताको लागि त जेनतेन कच्चा पदार्थ त पुग्ला त्यसपछि त उद्योग बन्द गर्नैपर्ने स्थिति आउंँछ । भटमास, पीना अन्य औषधीजन्य कच्चा पदार्थ भारतबाटनै आउनै कम भएको छ ।’ कंडेलले भने । उनका अनुसार मानिसको दैनिक खाद्य बस्तु उत्पादन र बिक्रीमा समस्या नआएपनि पशुंपक्षीको दाना उत्पादनमा भने समस्या देखिन थालेको हो ।
‘निशेधाज्ञा भनेर नत कुखुराले दाना खान कम गर्छन न अन्य पशुपंक्षीले उनले भने, ब्रौइलर कुखुरा र अण्डा मासु बिक्री भएन भने थप दाना, औषधीको उपभोग बढ्छ ।’कंडेलले भने । निशेधाज्ञाले पशुपंक्षीको मात्रै होइन अन्य कृषि खेतीमा प्रयोग हुने मल, बिषादी र पोषणजन्य उद्योगमा समेत असर पर्दै गएको छ । ‘अहिले भन्सारबाट सामान छुटाउन पनि गाह्रो छ । बजारमा माग पनि कम छ , उद्योग संघका उपाध्यक्ष एवं गोल्डेन एग्रो प्रालिका प्रबन्ध निर्देशक मदन घिमिरेले भने, उत्पादन पनि पूर्ण क्षमतामा गर्न सकिएको छैन ।’
अन्य सामान्य अवस्थामा भन्दा निशेधाज्ञाको समयमा उत्पादन र बिक्रीको अनुपात झण्डै ५० प्रतिशतले ह्रास आएको घिमिरेले बताए । हाल बर्षायाम शुरु हुंँदै गर्दा धान,तथा अन्य तरकारी तथा फलफूल लगाउने सिजन भएपनि किसानमै नैराश्यता र अन्यौल हुंँदा उत्पादन, खरीद, बिक्रीमै असर परेको उनको भनाई छ । दाना र औषधीजन्य उद्योगहरुमा निशेधाज्ञाले असर पुगेपनि अन्य निर्माणजन्य र अन्य मानिसको दैनिक उपभोग्य उत्पादनमा भने असर पुगेको छैन । मानिसको चहलपहल र आर्थिक गतिविधि सुस्सता आएपछि नत त्यस्ता उद्योगहरु पूर्ण क्षमतामा चल्न सकेका छन नत बजारमा मागनै छ । उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ कृषि र पशुपंक्षी उद्योगमा केही असर पुगेपनि अन्य उद्योगहरु आंशिक तथा पूर्ण रुपमा चलेको बताउंँछन ।
‘पोहोरजस्तो उद्योगहरु ठप्प छैनन, सबै उद्योगहरु आंशिक रुपमा भएपनि चलेका छन ।’ श्रेष्ठले भने । कृषिजन्य उद्योगको उत्पादनलाई निशेधाज्ञाले असर परे पनि अन्य दैनिक उपभोग्य बस्तुको उत्पादनमा असर परेको छैन । मानिसको उपभोग्य जन्य बस्तुको उपभोगमै कमी आएका कारण उत्पादन र बिक्रीको सन्तुलन मिलेको छैन । ‘उद्योगको प्रकृति अनुसार उत्पादन र बिक्रीमा निशेधाज्ञामा असर पर्नु स्वभाविक हो उनले भने, तर पोहोर जस्तो दयनीय अवस्था भने छैन ।’ बजारमा खरीद बिक्री नै कम भएपछि फूड एण्ड वेभरेज जन्य उद्योगको उत्पादन र उपभोगमा असर परेको छ ।
यस्ता वस्तुहरु लामो समयसम्म भण्डारण गर्न नसकिने र उत्पादित बस्तुको बजार पनि अन्यौल हुंँदा बन्द हुने अवस्था आएको हो । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल निशेधाज्ञा थपिदै जांँदा आगामी साता ५० प्रतिशत उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने बताउंँछन । ‘अहिले सम्म ४० प्रतिशत उद्योग बन्द भईसके उनले भने, कुनै उद्योगमा कच्चा पदार्थ कम भएर त कुनै उत्पादनको बिक्री नभएर ।’ कोरोनाले गर्दा कर्मचारी कम, र बजार पनि पूर्ण रुपमा नखुल्दा उत्पादन तथा वितरणमा असर परेको उनको भनाई छ । ‘उद्योगलाई पहिलेकै अवस्थामा फर्काउन कर्जा पुर्नतालिकिकरण र पुर्नकर्जा बिशेष राहत प्याकेज विना सम्भव छैन ।’
पौडेलले भने । उद्योगहरुमा कच्चा पदार्थको अभाव संगै बजार ठप्प रहेकोले उत्पादन भएर पनि उपभोगमा सन्तुलन आउन सकेको छैन । ‘दैनिक उपभोग्य बस्तुको बिक्री वितरण नै कम भएपछि उद्योग उत्पादनमा पनि उत्तारचढाव आउने गर्दछ । चेम्बर अफ कमर्स , चितवनका अध्यक्ष दिर्घमान श्रेष्ठ भन्छन , उद्योग र ट्रेडिङ्गको एक अर्काको परिपुरक हुन् ।’
कतिपय उद्योगमा कच्चा पदार्थको अभाव खड्केको छ त कतै उत्पादन खेर गईरहेको छ । निशेधाज्ञा पूर्ण रुपमा नखुलेसम्म उत्पादन र बिक्रीमा सन्तुलन नआउने श्रेष्ठको भनाई छ । अहिले सरकारले टर्मलोन लम्व्याउने, ऋणको जरीवाना ल्याउने स्टीमुलेज प्याकेज ल्याउन ढिला गर्नुहुदैन । चितवनमा साना मझौला, ठूला उद्योग सबै गरी दुईहजार भन्दा बढी उद्योग छन जहांँ २ खर्ब भन्दा बढी लगानी रहेको अनुमान छ ।








