गैँडाकोट । कोभिड १९ को महामारीमा अक्सिजन सहितको आइसोलेसन निर्माण गरी सेवा दिइरहेको गैँडाकोट नगर अस्पताललाई अष्ट्रेलियाबाट लाखौँ सहयोग प्राप्त भएको छ । अस्पतालका अध्यक्ष एवम गैँडाकोट ११ का वडाअध्यक्ष गोविन्द सुवेदीका अनुसार अस्पतालले एम्बुलेन्स खरिद गर्नका लागि सहयोगको अपील गरेसँगै अष्ट्रेलियामा रहने गैँडाकोटवासीहरुले ११ लाख ४५ हजार रुपैया सहयोग गर्नुभएको हो ।
गैँडाकोट घर भई हाल अष्ट्रेलियामा बस्दै आइरहनुभएका उहाँहरुले अष्ट्रेलिया हातेमालो समूह गठन गरी रकम संकलन गरेर नेपाल पठाउनुभएको हो । यो अभियान हाल अष्ट्रेलियामा बस्ने गैँडाकोट ११ का प्रमोद धिताल, सविता सुवेदी, प्रेम भुषाल, अर्जुन खरेल, अनरुद्र भट्टराई, सन्तोष श्रेष्ठको अगुवाइमा सफल भएको हो । गैँडाकोट नगर अस्पताललाई एम्वुलेन्स खरिदका लागि सो रकम संकलन गरी गैँडाकोट पठाउनुभएको वडाअध्यक्ष सुवेदीले बताउनुभयो ।
साविका मुकुन्दपुर घर भई हाल अष्ट्रेलियामा बसोवास गर्दै आउनुभएका उहाँहरुको सक्रियताले यो रकम जुट्न सफल भएको अष्ट्रेलियाबाट प्रमोद धितालले बताउनुभयो । यसले एम्बुलेन्स अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने बताउँदै अस्पताल जस्तो पुण्य ठाउँमा सहयोग गर्न पाउँदा आफुहरु खुशी रहेको बताउनुभयो । अष्ट्रेलियाबाट आएको ठूलो सहयोगले अव चाँडै नयाँ एम्वुलेन्स खरिद गर्न सहयोग मिलेको वडाअध्यक्ष गोविन्द सुवेदीको भनाई छ ।
अहिले कोभिड १९ का विरामी र अन्य विरामी बोक्नुपर्ने वाध्यता रहेको र अस्पतालमा रहेको पुरानो एम्वुलेन्स विग्रीरहदा समस्या परिरहेको छ । यो रकम सहितले अव चाँडै गैँडाकोट १८ का विरामीलाई समेत मध्यनजर गरी फोरह्वील नयाँ एम्वुलेन्स खरिद गर्ने वडाअध्यक्ष सुवेदीको भनाई छ ।
एम्वुलेन्स खरिद गर्न यसअघिको समितिले निर्णय गरिसकेको छ । अव आर्थिक स्रोत जुट्दै गएको र यति ठूलो रकम विदेशमा रहेर आफ्नो ठाउँलाई सहयोग गरेकोर्मा सवैलाई आभार व्यक्त गर्दै पुण्य कार्यमा जोडिन सवैलाई सुवेदीले आह्वान गर्नुभएको छ ।








