बीरगंज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुर निवासी हरेराम खड्का सगरमाथा आरोहण गर्न सफल हुनुभएको छ । सन् २००५ देखि ट्रेकिङ गाइडका रूपमा काम गर्दै आउनुभएका खड्काले भारतीय र नेपाली गरी करिब ३० जनाको समूहसँगै जून १ तारिखका दिन विश्वकै सर्वोच्च शिखर आरोहण गर्न सफल भएको टेलिफोनमार्फत जानकारी दिनुभएको छ ।
खड्काले सगरमाथाको शिखरमा गत मङ्गलवार वीरगञ्ज महानगरपालिकाको झण्डा फहराउनु भएको बीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सराबगीले बताउनुभयो । यस वर्ष प्रतिकूल मौसमका कारण धेरै विदेशी पर्यटक चुचुरो नपुगेर आधार शिविरबाट फर्किएका भए पनि खड्का भने केही दिन कुरेरै सगरमाथाको शिखर चुम्न सफल हुनुभएको नगरप्रमुख सराबगीले बताउनुभयो ।
सगरमाथा आरोहणपश्चात् शिखरबाट नजिकै रहेको अन्तिम आधार शिविर आइपुग्नुभएका खड्काले सगरमाथा आरोहण गरेको जानकारी वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई दिनुभएको थियो । खड्कालाई वीरगञ्ज महानगरपालिकाले सगरमाथा आरोहणका लागि २ लाख ५० हजार रुपैयाँ र ठोरी गाउँपालिकाले दुई लाख नगद रुपैयाँ सहयोग गरेका थिए ।
गत चैत २९ गतेदेखि सगरमाथा आरोहण आरम्भ गर्नुभएका खड्का ५० दिनभन्दा बढी समय लगाएर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएको बताइएको छ ।








