चितवन । कोरोनाका कारण बिश्व नै आक्रान्त भइराखेको बेलामा गायक रोशन धौभडेलको म्युजिक भिडियो “मन दुख्यो” सार्वजनिक भएको छ। वरिष्ठ साहित्यकार तथा गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा गत शुक्रबार जुम मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो। कोरप्रीउ अडियो भिडियो मिलको प्रस्तुति रहेको यो गीतमा अमेरिकावासी गीतकार उज्वल बस्नेतको शब्द रहेको छ।
गायक रोशन धौभडेलको स्वरले गीत सुमधुर बनेको छ। गीतमा संगीत पनि गायक धौभडेलको नै रहेको छ। सरल तर सुन्दर प्रस्तुति रहेको म्युजिक भिडियोमा अष्ट्रेलियावासी सुशील चालिसेको परिकल्पना तथा निर्देशन रहेको छ । चालिसे अष्ट्रेलियामा रहेर नेपाली साहित्य तथा कला क्षेत्रमा क्रियाशील छन्। उनी विशेषगरी मुक्तककार र डकुमेन्ट्री तथा म्युजिक भिडियोका निर्देशकको रुपमा परिचित छन्।
चालिसेको निर्देशनमा बनेको “मन दुख्यो” म्युजिक भिडियोको छायाँकन एवम् सम्पादन भने नेपालमै रिक्की कर्माचार्यले गरेका हुन् ।म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा गीतकार राजेन्द्र थापाले गायकी राम्रो भन्दै समाधान गर्न मिल्ने थोरै मिक्सिङको समस्यालाई सुधार्न सुझाव दिए ।
थापाले कलेज पढदाको १७-१८ बर्षको उमेरमा नै २०१६ सालमा आफूभन्दा १५ बर्ष जेठा यादव खरेल संगसंगै गीत रेकर्ड गरेको र आफूभन्दा १०-१५ बर्ष जेठा हरिभक्त, कालीप्रदासदहरु भन्दा संयोग र भाग्यका कारण रेकर्डिङमा जेठा हुन पुगेको स्मरण गरे ।








