काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले गत मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा पदक जिताउने प्रशिक्षकहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । मन्त्रालयले सोमबार एक विज्ञाप्ति जारी गर्दै सागमा सहभागी विभिन्न खेलका खेलाडीलाई पदक जिताउने प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरेको जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न खेलका मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षक गरी ६८ जनालाई पुरस्कारको रकम सम्बन्धित व्यक्तिको बैंक पठाइएको छ । पूर्व घोषित पुरस्कार राशी अनुसार स्वर्ण पदक विजेता मुख्य प्रशिक्षकले ५ लाख, रजतले ३ लाख र कास्यले २ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, स्वर्ण जित्ने सहायक प्रशिक्षकले ३ लाख, रजतले २ लाख र कास्यले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । यसअघि पदक जित्ने ४३५ खेलाडीका लागि १९ करोड ५३ लाख मन्त्रालयले सम्बन्धित खेलाडीको बैंक खातामा जम्मा गरिदिएको थियो । नेपालले गत मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न १३ औं सागमा ५१ स्वर्णसहित कुल २०७ पदक जितेको थियो ।








