काठमाडौं – नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । भारतको नयाँ दिल्लीस्थित आईजीआईबीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा र अल्फा भेरियन्ट फेला परेको हो ।
वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न ठाउँका विभिन्न उमेर समूहका व्यक्तिबाट पीसीआर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो । नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७) र डेल्टा (बी.श.६१७.२) तथा कप्पा (बी.१.६१७.१) भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले नमुना परीक्षणमा अनुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रूप के ४१७ एन म्युटेशन देखिएको बताए । यसलाई एवाइ १ नाम दिइएको छ । यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ ।
यि भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए । मन्त्रालयले सबैलाई सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ ।









