विराटनगर । विराटनगरमा दाजुभाई मिलेर आफ्ना बाबुको हत्या गरेका छन्। हत्यापछि घरभित्रै गाडिएको शव प्रहरीले बरामद गरेको छ। विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानलाई उनका जेठा र माइला छोरा मिलेर हत्या गरेका हुन्। हत्यापछि घरभित्र गाडेको अवस्थामा प्रहरीले बुधबार साँझ सत्यनारायणको शव उत्खनन् गरेर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीका अनुसार बाबुको हत्या गरेको अभियोगमा दुबै छोरा पक्राउ परेका छन्। उनीहरुलाई बिहीबार दिउँसो २ बजे सार्वजनिक उनले बताए। हत्यामा संलग्न जेठा छोराको नाम रोहित भएपनि माइला छोराको नाम भने प्रहरीले खुलाएको छैन। प्रहरीका अनुसार घरमा जेठा र माइला छोरासँगै बुबा सत्यनारायण बस्दै आएका थिए। कान्छा छोरा नगेन्द्र चौहान विराटनगरको भटिमोडमा बस्दै आएका छन्। लकडाउनमा खर्च माग्न बाबु सत्यनारायण कान्छा छोराकोमा जाने गरेका थिए। तर चार दिनदेखी बुबालाई फोन गर्दा नउठेपछि बुधबार उनी घर गएर ढोका खोलेर अबस्था बुझेका थिए। घर भित्र खनिएको आलो माटो देखेपछि उनले शंका लागेर प्रहरीलाई खवर गरेका थिए। खनेको स्थानमा उत्खनन् गरेर हेर्दा गाडेको अवस्थामा सत्यनारायणको शव फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबै छोराले रक्सीको सुरमा घर झगडा हुँदा बाबुको कुटेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन्। उनीहरुले कहिले हत्या गरे खुलेको छैन। करिब चार दिन अघि नै हत्या भएको अनुमान प्रहरीले गरेको छ।








