काठमाडौं । भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला वडा नम्बर ९ की सदस्य रहेको खुलेको छ । उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, ‘आज बिहानबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने र उहाँको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्ने लगायतका काम हुन्छ ।’
उनको घरमा श्रीमान र छोराछोरी छन् । उनी मुटुको बिरामी थिइन् । विगतमा उनको ओपन हार्ट सर्जरी गरिएको थियो । त्यसैले उनले घरमै बस्ने र अस्पताल नजाने इच्छा गरेकी थिइन् । अस्पतालमा जस्तो सावधानी घरमा नहुने भनेर सम्झाएपछि उनी अस्पताल जान तयार भएकी छन् ।
भक्तपुरकी प्रजिअ पाण्डेले भनिन्, ‘सुरुमा म घरमै बस्छु भन्नु भएको थियो तर सबैको सल्लाहअनुसार पाटन अस्पताल लगिएको छ ।’








