चितवन। चितवन मेडिकल कलेजमा पिभीटी भएका बिरामीलाई सफलतापूर्वक कलेजो प्रत्योरोपण गरिएको छ । यो कलेजमा गरिएको दोस्रो कलेजो प्रत्यारोपण हो । कलेजले असार १८ गते जाजरकोटको कुशे गाउँपालिका ९ का ४७ वर्षीय भरतबिक्रम शाहीको सफल कलेजो प्रत्यारोपण गरेको हो । कलेजले आज (बिहिवार ) पत्रकार सम्मेलन आयोजना गरी प्रत्यारोपणबारे जानकारी गराएको छ । चितवन मेडिकल कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार कलेजका बिशेषज्ञ शल्य चिकित्सक सर्जन डा. सञ्जय कुमार यादव, डा. जयन्त कुमार शाह डा. एकानन्द सिंह लगायतको टिमले भरतबिक्रम शाहीको कलेजो प्रत्यारोपणमा संलग्न थिए ।
त्यस्तै डा देवकोटाले स्टाफ नर्स कमला क्षेत्री, प्रेङका पौडेल, सलिना तिवारी, सुमि कार्की बर्षा लोहनी, प्रतिमा रेग्मी, अस्मिता भण्डारी, सुदिपा देवकोटा, कृति चौधरी, अन्जु थापा, श्रृती यादव, नितु बस्नेत, सुष्मा भुजेल, अनिता भण्डारी लगायतको टिमका साथै भारतको एपोलो अस्पतालका चिकित्सकहरु डा. निरभ गोयलको टिम समेतको प्रत्यारोपणमा संलग्नता रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा सर्जन डा. सञ्जयकुमार यादवले श्रीमती शाहीको ६० प्रतिशत कलेजो उहाँको श्रीमान्मा ट्रान्सप्लान्ट गरिएको जानकारी दिनुभयो ।
उहाँले कलेजलो दाता कमलादेवीको स्वास्थ्यमा सुधार रहेको र उहाँलाई असार २७ गते नै अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिनुभयो । उहाँले भरतबिक्रम शाहीको स्वास्थ्य अवस्था राम्रो हुँदै गैरहेको साथै यहि गतिमा सुधार भए आगामी साता डिस्चार्ज गर्न सकिने बताउनुभयो ।” उहाँले भन्नुभयो “२ देखि ३ महिनामा दुबै जनामा कलेजोको अवस्थामा बृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउँछ । उहाँहरू दुबै जना सामान्य जीवन बिताउन सक्नुहुन्छ ।”
काठमाण्डौंमा कलेजोको जाँच तथा उपचार गराउँदै आउनु भएका शाही दुई साता अघि मात्रै चितवन मेडिकल कलेज आउनु भएको छ । डा. यादवले गत फागुनमा अन्तिम चरणमा पुग्नुभएका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किल पर्ने अवस्था रहेको बताउनुभयो ।” शाहीको पेटमा पानी भरिएको र ठूलो भएको भन्दै डा. यादवले भन्नुभयो “अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बी’ पनि शाहीमा थियो ।” डा यादवले प्रत्यारोपणका लागि करिब १३ यूनिट रगत आवश्यक परेको बताउनुभयो ।
उहाँले प्रत्यारोपणका लागि करिब २५ लाख खर्च भएको बताउनुभएको । डा. यादवले “नेपालमा वर्षेनी करिब एक हजार जनाको कलेजो बिग्रीने गरेको त्यसमध्य औसत ६० जना प्रत्यारोपणका लागि विदेश जाने गरेको बताउनुभयो । उहाँले नेपालमै प्रत्यारोपण दरलाई बढाउने सहज अवस्था तयार भए विदेश जानुपर्ने बाध्यता समेत अन्त्य हुने बताउनुभयो । प्रत्यारोपणका लागि १८ देखि ५० वर्ष उमेर समूहकाले कलेजो दान गर्न सक्ने उनले बताए । दाताको ६० देखि ६५ प्रतिशत कलेज निकालेर दान गर्न सकिनेछ ।
कलेजका प्रत्यारोपण विशेषज्ञ. डा सागर पौडेलले दैनिक करीब ३० जना कलेजो सम्बधी समस्याका कारण अस्पताल आउने गरेको बताउनुभयो । उहाँले उनीहरु मध्ये २० प्रतिशतको प्रत्यारोपण गर्नुपर्ने बताउनुभयो । अस्पतालमा दैनिक आउने मध्ये एक जना भने तत्काल प्रत्यारोपण गर्नुपर्ने अवस्थाका हुने गरेको बताउनुभयो ।
कलेजले यस अघि चैत ८ गते भरतपुर महानगरपालिका १० कि ५४ वर्षीया धनकुमरी लामाको सफल कलेजो प्रत्यारोपण गरेको थियो । लामालाई उहाँकी छोरी ३४ वर्षीया उषा तामाङले कलेजो दान गर्नुभएको थियो ।लामाको लगातार १२ घण्टा लगाएर सफल शल्यक्रिया गरिएको थियो ।








