चितवन । सुजिताको शब आज देवघाटधाममा अन्तेष्टि गरिएको छ । मृत अवस्थामा फेला परेकी राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको सोमवार अन्त्येष्टी गरिएको छ । सुजिताको बुवाले दागबत्ती दिनुभएको हो ।
दाहसंस्कारमा परिवारका सदस्य र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो । पोष्टमार्टमका लागि काठमाडौंमा रहेको शव परिवारले सोमवार बुझेको हो । चितवन प्रहरीका अनुसार सुजिताको भिसेराको रिपोर्ट आइसकेको छैन । भिसेराको रिपोर्ट आएपछि थप कुरा थाहा हुने प्रहरीको भनाइ छ । भिसेराको रिपोर्ट आएपछि सुजिताले मृत्युअघि के खाएकी थिइन पत्ता लाग्ने छ ।
पोस्टमार्टम रिर्पोटमा सुजिताको शरीरमा कुनै चोटपटक नलागेको र बलात्कार पनि नभएको उल्लेख छ । परिवार र स्थानीयले सुजिताको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका भए पनि चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिएपछि परिवारले शव बुझेको हो ।
सुजिता असार ११ गतेदेखि बेपत्ता भएकी थिइन । असार २० गते ब्रह्मास्थानी सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीयले एक युवतीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउन खोज्दा स्थानीयले सडकमा अवरोध गर्दै नाराबाजी गरेका थिए । राजमार्गमा सुजिताको न्याय माग्दै आन्दोलन चर्किएपछि चितवन प्रशासनले कफ्र्यु लगाएको थियो ।








