काठमाडौं । नेपालमा प्रतिबन्धित निलो रङमा प्याकिङ गरिएको शक्तिबर्द्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गरिहेको अवस्थामा काठमाडौँबाट चार जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले चार हजार ८४८ थान (२०२ कार्टुन) निलो रेडबुलसहित पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको विशेष टोलीले गोप्य सूचनाको आधारमा काठमाडौँको न्यूरोड, सिनामंगल, पुराना बानेश्वर, कपन, गोठाटारलगायतका स्थानबाट रेडबुलसहित बिक्रीवितरणमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले बरामद गरेको सामग्रीमध्ये ८४ कार्टुन रेडबुल बा२१च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखेर बिक्री गर्दै गरेको अवस्थामा एक जनासहित रेडबुल बरामद गरेको हो भने अन्य कार्टुन र व्यक्तिलाई भने विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार पक्राउ परेका मानिस र बरामद सामानलाई आवश्यक कारबाहीका लागि भन्सार विभाग पठाउने प्रहरीले जनाएको छ ।

प्रहरीले प्रतिबन्धित इनर्जी ड्रिङ्क्स रेडबुलसहित काठमाडौँ महानरपालिका बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रवीनराज श्रेष्ठ, बाँकेको कोहरलपुर नगरपालिका–९ घर भई काठमाडौँ–११ गोँगबु बस्ने रेडबुल ओसारपरासमा संलग्न ३६ वर्षीय राजु पौडेल, ओखलढुंगा चम्पादेवी गाउँपालिका–३ घर भई काठमाडौँको निलो पुल बस्ने शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ वर्षीय धनबहादुर श्रेष्ठ र सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई काठमाडौँ गोठाटार बस्ने रेडबुल ओसारपरासमा संलग्न ३६ वर्षीय वीरेन्द्र चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीले प्रणव स्टोरबाट ५९ कार्टुन रेडबुल, शक्तिमाता स्टोरबाट ५९ कार्टुन तथा पिकअप भ्यानबाट ८४ कार्टुन निलो रेडबुल बरामद गरेको हो । तस्करहरुले नेपालमा प्रतिबन्धित निलो रेडबुल खुला सिमानाको फाइदा उठाउँदै भारतसँग सीमा जोडिएका तराईका जिल्लाबाट लुकाइछिपाई नेपाल भित्र्याउने र पिकअप भ्यान तथा रात्रि बसका विभिन्न भागमा लुकाएर काठमाडौँसम्म ओसारपसार गरी बिक्रीवितरण हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
नेपाल सरकारले विसं २०७६ असार २ गतेको राजपत्रमा सूचना प्रकाशित गरी क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थहरुको बिक्रीवितरणलाई पूर्ण रुपमा बन्देज लगाएको थियो । सरकारले प्रतिबन्ध लगाए पनि काठमाडौंका विभिन्न स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित उक्त इनर्जी ड्रिक्सहरु नेपालमा ल्याएर बिक्री वितरण गर्दै आइरहेका छन् ।








