चितवन । भरतपुर अस्पतालबाट गत आर्थिक वर्षमा ८५ हजार ३ सय १९ जनाले स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत निःशुल्क उपचार गरेका छन् । गत आव ०७७/०७८ मा एक लाख ४९ हजार ९ सय ४८ जनाले बहिरंग सेवा लिएकोमा विमा सेवा पनि यसै अन्तर्गत रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । जसमध्ये आकस्मिक सेवाबाट १० हजार ६ सय ५ जना र बहिरंग सेवाबाट ७४ हजार ७ सय १४ जनाले विमाबाट स्वास्थ्य उपचार गरेको पौडेलले बताए । आव ०७७/०७८ मा भरतपुर अस्पतालले विमा कार्यक्रमबाट १० करोड आम्दानी गरेको पनि उनले जानकारी दिए ।
त्यसैगरी १२ हजार ७ सय ७५ जना विरामीलाई स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत रिफर गरी विमा सुविधा भएका अस्पतालमा पठाइएको भरतपुर अस्पतालका फोकल पर्सन नारायण प्रसाद सापकोटाले बताए । अन्य अस्पतालबाट रिफर भएर आएका ४ हजार ३ सय ८० जना विरामीको स्वास्थ्य विमा अन्तर्गत उपचार गरिएको उनले बताए ।
चितवन, नवलपुर,नवलपरासी,तनहुँ,गोरखा,लमजुङ्ग,मकवानपुर,पर्सा,रौतहट लगायतका जिल्लाबाट स्वास्थ्य विमामार्फत भरतपुर अस्पतालमा उपचार गर्न आउने गरेको सापकोटाले बताए । २०७४ साल भदौ महिनादेखि चितवनमा सुरु भएको स्वास्थ्य विमा कार्यक्रम यस वर्षदेखि सरकारले पहिलो सेवाविन्दु सरकारी स्वास्थ्य संस्थालाई बनाएपछि सरकारी अस्पतालमा विमा अन्तर्गत उपचार गरेको संख्या बढ्दै जाने देखिएको छ ।
विमाबाट उपचार निःशुल्क भएपनि तोकिएका औषधीहरु अस्पतालको फार्मेसीमा पर्याप्त मात्रामा उपलब्ध नहुँदा विरामीहरुले सास्ती खेप्नु परेको छ ।








