चितवन । पुर्वीचितवनको खैरहनी नगरपालिका भित्र करिव १५ हजार भन्दा वढिले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । गत वर्षका फागुन देखी हाल सम्म १५ हजार ३७८ जनाले कोरोना विरुद्धको खोप लगाएको नगरपालिकाले जनाएको छ । खोप अभियान अन्र्तगत ८ पटक सम्म खोप कार्यक्रम संचालन गरिएको थियो ।
जसमा महिला ७ हजार ४६० र पुरुष ७ हजार ९१८ जना रहेका नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नविन अधिकारीले जानकारी दिए । उनका अनुसार यहाँका नगरवासीले कोभिशिल्ड,भेरोसेल र ज्यानसन खोप लगाएका छन् । पछिल्लो पटक साउन १४ देखी १६ गते सम्म संचालन भएको खोप अभियानमा ५ हजार १९६ जनाले खोप लगाएका थिए । खोप लगाएका मध्ये ६ हजार २०९ जनाले कोरोना विरुद्धको खोपको डोज पुरा गरेका छन् भने ९ हजार १६९ जनाले पहिलो मात्रा खोप लगाएका जनस्वास्थ्य निरीक्षक अधिकारीले वताए ।
नगरभित्र कोभिशिल्ड खोप लगाएका २ हजार १२६ जनाले अझै दोश्रो डोज लगाउन पाएका छैनन् । उनीहरुले पहिलो डोज गत फागुन महिनाको अन्तिममा लगाएका थिए । तर झण्डै पाँच महिना वित्न लाग्दा समेत उनीहरुले मात्रा पुरा गर्न पाएका छैनन् । कोभिशिल्ड खोप भारतले उत्पादन गरेको हो । दोश्रो मात्राका लागि खोप किन्न पैसा पठाईसकेपनि भारतले खोप पठाएको छैन् ।
कोभिशिल्ड लगाएका ३१२ जनाले भने डोज पुरा गरेका छन् । पहिलो मात्रा अन्यत्र लगाएका उनीहरुले दोश्रो डोज खैरहनीबाट पुरा गरेका हुन् । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले प्रमुख जिल्ला अधिकारी,स्वास्थ्य कार्यालय चितवनसंग निरन्तरको समन्वयले पछिल्लो समय खोप कार्यक्रममा केही सहज भएको वताए । खैरहनीमा पछिल्लो तथ्यांक अनुसार करिव ६८ हजार जनसंख्या छ ।








