चितवन । पूर्वीचितवनको खैरहनी–७ सुर्तनाबाट अवैध लागुऔषध खैरो हिरोइन सहित चार जना पक्राउ परेका छन् । सुर्तनामा रहेको हरिशरण चौधरीको माछापोखरीमा क लागुऔषध सेवन तथा बिक्री वितरणको लागि भेला भएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ खैरो हिरोइन सहित चार जनालाई पक्राउ गरेको हो ।
सो माछापोखरीमा रहेको निर्माणाधीन टहरोमा शंकास्पद अवस्थामा फेला परेका व्यक्तिलाई नियन्त्रणमा लिएर शरीर तलासी गर्दा उनीहरुको साथबाट अवैध लागुऔषध खैरो हेरोइन ३ ग्राम ७३० मिलिग्राम तथा ३० हजार रुपैयाँ नगद समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए । प्रहरीले खैरहनी–७ सुर्तनीका ३१ वर्षीय भरत भन्ने खेमराज न्यौपाने, खैरहनी–६ पर्साका २९ वर्षीय मुकेश चौधरी, भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका ३४ वर्षीय सोनु भन्ने गौरव पाण्डे र क्षेत्रपुरकै ३६ वर्षीय दीपक पाण्डेलाई खैरो हिरोइन सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको अधिकारीले जानकारी दिए ।








