कैलाली । कोरोना भाइरसको संक्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म एन्टिजेन र पीसीआर पद्धतिबाट तीन लाख पाँच हजार ८५७ को नमूना परीक्षण भइसकेको छ ।
नमूना परीक्षण गरिएको यो संख्या प्रदेशमा कुल जनसंख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १५ प्रतिशत हो । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकनुसार संक्रमितमध्ये ४५ हजार २१६ उपचारपछि घर फर्किएका छन् । निको हुने यो संख्या संक्रमितको झण्डै ९८ प्रतिशत हो । एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि हुनेमध्ये आठ हजार ७८० र पीसीआर परीक्षणवाट संक्रमित हुनेमध्ये ३६ हजार ४३६ उपचार व्यवस्थापनपछि घर फर्किएका हुन् ।
अहिलेसम्म पीसीआर पद्धतिबाट नमूना परीक्षण गर्दा ३६ हजार ७९८ र एन्टिजेन परीक्षणबाट नौ हजार १६३ व्यक्तिमा संक्रमण देखिएको छ । केरोनाबाट हालसम्म ५८० व्यक्तिको मृत्यु भएको छ । प्रदेशका नौ जिल्लामध्ये पहाडी क्षेत्रका जिल्लाको तुलनामा तराईका जिल्ला कैलाली र कञ्चनपुर संक्रमणबाट बढी प्रभावित भइरहेका छन् । पछिल्लो दुई हप्तायता प्रदेशमा ५६४ नयाँ संक्रमित थपिँदा ४९५ जना उपचारपछि घर फर्किएका छन् ।
दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । तथ्यांकमा यस अवधिमा सक्रिय संक्रमित भने घटेको देखिएको छ । हाल प्रदेशमा सक्रिय संक्रमित बिरामी ४०८ जना छन् । दुई हप्ताअघि यो संख्या ५०२ थियो । पछिल्लो २४ घण्टामा ९६९ को नमूना परीक्षण हुँदा १५ मा संक्रमण देखिएको छ । यस अवधिमा उपचारपछि ४६ जना डिस्चार्ज भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । गत वैशाख, जेठमा यो रोगको संक्रमण र मृत्युदर उच्च थियो । असार शुरु भएसँगै केही घटेको थियो ।
हाल नमूना परीक्षण गराउन आउनेको संख्या पनि कम हुँदै गएको छ । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको संक्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । रोगको रोकथामका लागि गत वैशाखदेखि जारी निषेधाज्ञा हाल खुकुलो पारिएसँगै बढेको सर्वसाधारणको चहलपहलले रोग फैलिने जोखिम यथावत रहेको स्वास्थ्यकर्मी बताउँछन् । कैलालीसहितका जिल्लामा हाल निषेधाज्ञा खुकुलो पारिएको छ ।
सर्वसाधारणबाट तोकिएअनुसार मास्क प्रयोग नगरी जथाभावीरूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी कमजोरी देखिएको छ । रासस








