काठमाडौं । कोरोना महामारीले सताइरहेका बेला छिमेकी मुलुक भारतमा आज निसर्ग नामको चक्रवातको खतरा सुरु भएको छ।
भारतको मौसम विभागका अनुसार अरब सागरमा विकसित यो चक्रवातको प्रभावले मुम्बईको सान्ताक्रुज क्षेत्रमा बिहानैदेखि प्रतिघण्टा २२ किलोमिटर वेगमा हावाहुरी चल्न थालिसकेको छ।
त्याे चक्रवात आज दिउँसो भारतका महराष्ट्र वा गुजराको जमिनमा ठोक्किने सम्भावना रहेकाले त्यस क्षेत्रमा मंगलबार रातिदेखि नै त्रास फैलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच यसको असर नेपालमा पनि पर्ने यहाँका मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार नेपालमा त्यस चक्रवातको आंशिक प्रभाव सुरु भइसकेको छ।
‘नेपालको तराई क्षेत्रमा आजै रातिदेखि हावाहुरी तथा वर्षा सुरु हुने देखिन्छ,’ ‘निसर्ग चक्रवातले नेपालमा तीन दिन अर्थात् यही जेठ २२ देखि २४ सम्म वर्षा तथा हिमपात गराउने सम्भावना छ।’
महाशाखाले मंगलबार राति विशेष बुलेटिन जारी गर्दै भनेको छः
‘दक्षिण-पूर्वी अरब सागरमा बनेको ‘न्यून चापिय क्षेत्र’ हाल मध्य-पूर्वी अरब सागरमा निसर्ग चक्रवातका रूपमा विकसित भई उत्तरतर्फ सर्दै गएको देखिन्छ। उक्त चक्रवात आगामी १२ घण्टामा ‘शक्तिशाली चक्रवात’ रूपमा विकसित हुने सम्भावना छ। ततपश्चात् उक्त चक्रवात उत्तर-उत्तर पूर्व तर्फ सर्ने क्रममा नेपालमा पनि आंशिक प्रभाव रही केही स्थानहरूमा जुन ४, ५ र ६ अर्थात् जेठ २२-२४ मा वर्षा हुन सक्ने सम्भावना छ। साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने सम्भावना देखिन्छ।’
यो हिजै (मंगलबार) को अनुमान भएको र त्याे चक्रवातको बढी प्रभाव आज दिउँसोदेखि देखिने सम्भावना रहेकाले अहिल्यै कति प्रभाव पर्छ भन्न नसकिने बताउँदै मौसमविद् बासीले विकास हुँदै गरेको मौसमी अवस्थाअनुसार पुनः यसबारे अपडेट गराइने जानकारी दिइन्।
अहिले कस्तो छ मौसम?
मौसमविद् बासीका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम क्षेत्रमा मौसम सामान्य बदली भएको छ भने प्रदेश २ र ५ मा मौसम आंशिक बदली छ।
अपराह्नपछि प्रदेश १, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना छ।
काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना देखिए पनि त्यो अति सम्भावन ज्यादै कम रहेको उनले बताइन्।
याे अहिले बिहानसम्मकाे माैसमी अनुमान हाे। दिउँसाे भारतीय भूभागमा निसर्ग चक्रवात ठाेक्किएपछि फरक अवस्था पनि आउन सक्ने माैसमविद्ले बताएका छन्।
भारतमा कस्तो छ खतरा?
बीबीसी हिन्दीका अनुसार कोरोना महामारीसँग जुधिरहेको महाराष्ट्र र गुजरातमा चक्रवाती तुफान निसर्ग मडारिइरहेको छ।
यसको मुख्य प्रभाव भारतको मुम्बईमा पर्ने देखिएको छ। भरतीय मौसम विभागले त्यो चक्रवात आज दिउँसो मुम्बई, मुम्बई उपनगर, तने, पालघर, रायगढ, रत्नागिरि, सिन्धुदुर्ग जिल्लाका तटीय इलाकामा ठोक्किने सम्भावना रहेकाे चेतावनी दिएकाे छ।
भारतीय माैसम विभागले याे बितेकाे सय वर्षभन्दा बढी समययताकाे शक्तिशाली तुफान भनेकाे छ।
मुम्बई प्रशासनले स्थानीय नागिरकलाई सावधान रहन सूचना जारी गरिसकेकाे छ।
महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले दुई दिन घरभित्रै रहन नागरिकलाई आह्वान गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि महराष्ट्रका मुख्यमन्त्री ठाकरे र गुजरातका मुख्यमन्त्री विजय रूपाणीसँग यस विषयमा कुराकानी गर्दै यसमा केन्द्र सरकारको पनि सहयोग रहने बताएका छन्। ।








