काठमाडौं । कोरोना भाइरस फैलिन नदिनका लागी सरकारले जारी गरेको लकडाउन ७० दिन कटिसकेको छ । लामो समयसम्म लकडाउन भएकाले जनजीवन कष्टकर बन्दै गएपछि सरकारले लकडाउनको स्वरुपमा परिवर्तन गर्ने तयारी गरेको छ ।
यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।
लकडाउनको स्वरूप परिवर्तन नगरे बजार पसल खोल्ने व्यवसायीहरूले चेतावनी दिइसकेका छन् भने लकडाउनको स्वरूप परिवर्तनबारे जनदबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गरेका छन् । नेपालमा लकडाउन कोरोनाका २ जना संक्रमित देखिएपछि चैत्र ११ गतेदेखि सुरू गरिएको थियो ।








