संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ ।
सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको जानकारी पाएपछि स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घरवरिपरि विभिन्न स्थानमा छरपस्ट भेटेका थिए । जिल्ला प्रहरीले मात्र घटनाको पर्याप्त अनुसन्धान गर्न नसक्ने देखेपछि संघीय प्रहरी एकाइ धरानबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको विज्ञ टोलीलाई बोलाइएको थियो । सो टोलीले घटनास्थलको सूक्ष्म अध्ययन गरेपछि शव पोस्टमार्टमका लागि मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।
घटनाको थप अध्ययनका लागि तालिम प्राप्त कुकुरसहितको विज्ञ र प्रहरी टोली अभियुक्त पत्ता नलागेसम्म घटनास्थलमा नै रहने जनाइएको छ । घटनालाई थप अध्ययन तथा घटनासँग सम्बन्धितलाई पक्राउ गर्न सीआईबीको टोली पनि घटना स्थलमा आइसकेका छन् । प्रहरी र स्थानीयको जानकारीअनुसार तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घरनजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।
घटना कतिखेर ? यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्योल रहेको छ । बौद्धमानका अनुसार सपरिवार बेलुका ६-७ बजे तिर खाना खाएर सुतेका थिए । घटनामा परेकाहरूको शवको अवस्था हेर्ने हो भने तेजबहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य पाँच जनाले चप्पल, स्यान्डल लगाएका थिए ।
सोबमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्न सक्ने स्थिति छैन । यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेकाहरू चप्पल, जुत्ता नलगाएको हुनुपर्ने हो । घटना बिहानैको हो भने पनि भागदौड गर्दा जुत्ता, चप्पल उनीहरूले कसरी लगाउन भ्याए ? हत्या गरिएका ६ जनाको नै टाउकोमा सामान्य चोट र रगत जमिएको पाइएको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको भनिए पनि त्यस्तो देखिँदैन । उनीहरूको शव घोप्टो परेको अवस्थामा थियो ।
पार्वतीको शव आँगनबाट ओछ्यानमा जीवित रहेका बौद्धमानका अनुसार उनी घटनाको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन् । बिहान उठ्दा घरमा कोही नदेखेपछि खोजी गरेको तर कोही नदेखेपछि सुतेकै ओछ्यानमा फर्किएको उनको भनाइ छ । पछि श्रीमतीलाई ओछ्यानमा गएर उठाउन खोज्दा नउठेको र यो बिहान करिब ८ बजेको समय हाराहारीको भएको उनको भनाइ छ ।
बौद्धमानका अनुसार पार्वतीलाई मुर्छा पर्ने पुरानै रोग थियो । निकैबेरपछि पनि पार्वती नउठेपछि बौद्धमानले श्रीमतीको मृत्यु भइसकेको जानकारी पाएका थिए । संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वती, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । झन्डै ५ लाख नगद र गहना भेटियो सामूहिक हत्या गरिएका कार्की परिवारको घरभित्रै नगद र गहना फेला परेको छ ।
घर खानतलासीका क्रममा ४ लाख ७१ हजार रुपैयाँ नगद र केही गहना फेला परेको हो । अनुसन्धानमा संलग्न एसपी भीमप्रसाद दाहालका अनुसार घरभित्र रहेको बाकसमा ४ लाख ७१ हजार रुपैयाँ नगद, नौगेडी, पोतेमा लगाएको सुनका गहना सुरक्षितसाथ भेटिएको छ । बाकसमा जसरी राखिएको थियो त्यस्तै अवस्था पाइएको छ । प्रहरीले कार्की परिवार झापामा जग्गा पास गर्ने तयारीमा रहेको जानकारीका आधारमा हत्या आर्थिक कारणबाट पनि गरिएको हुन सक्ने आशंका गरेको थियो । तर, घरमा नगद र गहना फेला परेपछि अन्य नै कारण हुन सक्नेतर्फ अनुसन्धान सोझिएको प्रहरी स्रोतले जनाएको छ ।आजको राजधानी दैनिकमा समाचार छ ।








