चितवन । भरतपुर अस्पतालको ओपिडि (बहिरंग) सेवा अब दैनिक ६ घण्टा हुने भएको छ । यस अघि दैनिक पाँच घण्टा यो सेवा सञ्चालन गरेको अस्पतालले एक घण्टा समय बढाएको हो । अस्पतालको ओपिडि टिकट लिन सेवाग्राहीले घण्टौं लाईनमा बस्नुपर्ने समाचार बाहिरिएपछि अस्पतालले सुधार गरेको छ । यहि असोज १ गतेबाट बिहान ९ वजे बाटै वहिरंग सेवा सुरु गर्न लागिएको हो ।
यस अघि १० वजेबाट तीन वजेसम्म वहिरंग सेवा दिदै आएकोमा अब बिहान एक घण्टा थप गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । बिहान ८ वजेदेखि ११ वजेसम्म काटिदैं आएको टिकट दिउँसो १२ वजेसम्म काटिने भएको छ । बहिरंग सेवामा विहान १ घण्टा र टिकट काउण्टरमा दिउँसोमा १ घण्टा थप गर्न लागिएको पौडेलले बताउनुभयो ।
अस्पतालमा बिरामीको अत्याधिक चाप र वाहिरबाट आउनेले उपचार पाउन कठिन हुने गरेकाले वहिरंग सेवाको समय बढाइएको अस्पतालले जनाएको छ । संघीय अस्पताल भरतपुरमा ६ सय शैया रहेका छन् । चितवन सहित १९ भन्दा बडप् जिल्लाबाट बिरामी उपचारका लागि आउने यस अस्पतालमा एकै दिनमा दुई हजार जनासम्मले वहिरंग सेवा लिएको तथ्याङ्क छ ।
अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले लामो समय पालो कुर्नुपर्ने अवस्थालाई व्यवस्थापन गर्ने विषयमा अध्ययन भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “बिरामीको चाप बढ्दा सेवाग्राहीले घण्टौं कुर्नु पर्ने समस्या छ । यसरी ओपीडी समय विस्तार गर्दा बिरामीलाई राहत पुग्ने छ ।” यसले कोभिड समयमा हुने भीडभाडबाट संक्रमण फैलन सक्ने जोखिम समेत कम हुने उहाँको भनाई छ ।








