चितवन । भरतपुर महानगरपालिकाले शहरलाई व्यवस्थित र सफा बनाउन नगरका विभिन्न ३ स्थानमा स्मार्ट शौचालय निर्माण थालेको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका वडा नम्बर १२ को गोन्द्राङमा एक कार्यक्रमका बीच स्मार्ट शौचालयको शिलन्यास गर्नुभएको छ । स्मार्ट शौचालयको शिलन्यास गर्दै प्रमुख दाहालले सहरलाई स्वच्छ सफा राख्न सार्वजनिक शौचालय अपरिहार्य हुने भन्दै भरतपुर महानगरपालिकाले यसै आ.व.मा महानगरपालिकाका तीन महत्वपूर्ण स्थानमा स्मार्ट शौचालय निर्माण गर्न लागेको बताउँदै आगामी आ.व.मा अन्य धेरै स्थानमा सर्वजनिक शौचालय निर्माण गर्नेगरी काम अगाडि बढाइएको बताउनुभयो ।
प्रमुख दाहालले महानगरपालिका सहरलाई व्यवस्थित र सुन्दर बनाउन योजनावद्द ढंगले अगाडि बढीरहेको बताउँदै अस्तव्यस्त र कुरुप देखिएको बिजुलीका तारहरु भूमिगत गर्ने, सडकमा स्मार्ट लाईट जडान गर्ने लगायतका कामहरुको बोल कबोल प्रकृया सम्पन्न भई काम सुरु हुने अवस्थामा रहेको समेत बताउनुभयो, पूलचोक–गोन्द्रङमा सडक खण्ड ६ लेन निर्माणको छिट्टै शिलन्यास गरिने र आँपटाँडी–केन्द्रीय बस टर्मिनल चोक सडक सम्पन्न हुने चरणमा रहेको समेत बताउनुभयो । भरतपुर १२ को गोन्द्राङ २४ लाख रुपैयाँको लागतमा निर्माण हुने आधुनिक शौचालयमा महिला तथा पुरुषको छुट्टाछुट्टै शौचालय तथा स्नानकक्ष हुनेछन् भने प्रयाप्त पार्किङ् र आकर्षक बँगैचा समेत रहनेछ । भरतपुरको चौविसकोठी र रामनगरमा निर्माण हुने आधुनिक शौचालयहरु पनि सोही किसिमको हुने र ७२ लाख ५६ हजारको लागतमा ठेक्का स्वीकृत गरिएको भरतपुर महानगरपालिकाका डिभिजनल ईन्जिनियर रत्न लामिछानेले बताउनुभयो ।








