काठमाडाैँ । यूईएफए च्याम्पियन्स लिग २०२१–२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा साविक विजेता चेल्सी र युभेन्ट्सले विजयी यात्रा सुरुवात गरेका छन् । मंगलबार राति भएको समूह ‘एच’को खेलमा चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा जेनिट सेण्ड पिटरर्सबर्गलाई १-० गोल अन्तरले पराजित गरेकाे हाे । चेल्सीको जितमा निर्णायक गोल यसै सिजन अनुबन्धन भएका रोमेलु लुकाकुले गरे ।
लुकाकुले ६९औँ मिनेटमा गरेको गोल नै चेल्सीलाई तीन अंकको पर्याप्त रह्यो । समूह ‘एच’कै अर्काे खेलमा युभेन्टस्ले घरेलु टोली माल्मोलाई ३-० गोल अन्तरले पराजित गरेकाे छ । स्विडेनमा भएको खेलमा युभेन्टस्लाई जित दिलाउन एलेक्स सान्द्रो, कप्तान पाउलो डिबला र अल्भारो मोरटाले १-१ गोल गरे । युभेन्टस्ले पहिलो हाफमै ३ गोल गरेको थियो । खेलको २३औँ मिनेटमा सान्द्रोले युभेन्टस्लाई अग्रता दिलाए ।
४५औँ मिनेटमा कप्तान डिबलाले पेनाल्टीमा गोल गर्दा मोरटाले ४५औँ मिनेट पछि थपिएको १ मिनेटमा गोल गरे । जितसँगै समान तीन अंक भए पनि समूह ‘एच’मा युभेन्टस् पहिलो स्थानमा रहँदा चेल्सी दोस्रो स्थानमा छ । बिना कुनै अंक जेनिट र माल्मो क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।








