चितवन । पूर्वीचितवनको खैरहनीमा जिल्ला स्तरीय स्वर्णकप फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय युवा स्वर्ण तारा क्लबको आयोजनामा स्व. डिल्लीराम अधिकारीको सम्झनामा स्वर्णकप फुटबल आयोजना गर्न लागिएको हो । मेडिकल हल सञ्चालन गर्दै आएका अधिकारिीको कोभिड १९ का कारण निधन भएको थियो ।
क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो । जिल्लाका १४ टिम सहभागी हुने प्रतियोगिता यहि असोज ९ गतेदेखि सुरु हुने क्लबका अध्यक्ष एवं प्रतियोगिताका संयोजक मनोज खड्गीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी तथा उपविजेताले नगद ३५ हजार रुपैयाँसँगै ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिता भरको उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबवका सचिब सागर अधिकारीले बताए ।
प्रतियोगिता अवलोकनका लागि ३० रुपैयाँ प्रवेश शुल्कको ब्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य मापदण्ड पालना गरेर प्रतियोगिता गराइने क्लबका सल्लाहकार केएन सिलवालले बताए । विसं २०४१ सालमा स्थापना भएको युवा स्वर्ण तारा क्लबले खेलकुद बाहेक सामाजिक काम समेत गर्दै आएको छ ।
क्लबले प्रतियोगिताको तालिका पनि सार्वजनिक गरेको छ । पहिलो खेलमा वसन्तपुर युनाइटेड क्लब माडी र हर्दी युवा समाज राप्ती ६ बीच प्रतिस्पर्धा हुनेछ । पत्रकार सम्मेलनमा फुटबलका पूर्वराष्ट्रिय खेलाडी छन्नुराम चौधरी, भेट्रान खेलाडी चक्र पुन, स्व. डिल्लीराम अधिकारीका छोराछोरीको पनि उपस्थिति रहेको थियो ।








