नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले चाडपर्व लक्षित सुरक्षा चेकजाँचलाई कडा पार्ने भएको छ । चाडपर्वको मौका छोपी हुने घटना नियन्त्रणका लागि चेकजाँचलाई कडा पारिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख नारायण थापाले बताउनुभयो । उहाँले ट्राफिक चेकजाँच एवं सुरक्षामा गस्ती सहित कडाई गरिने बताउनुभयो ।
चेकजाँच सहित सिभिलमा प्रहरी खटाएर सूचनाहरु संकलन गर्ने, बिगतका घटनाको टे«न्डलाई हेरी त्यस्ता क्षेत्रमा निगरानी बढाउने काम गरिने प्रहरी प्रमुख प्रकाश मल्लले बताउनुभयो । प्रहरीको पहुँच कम भएका क्षेत्रहरुमा निगरानीका लागि प्रहरी परिचालन गरिने समेत उहाँले बताउनुभयो । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था चुस्त राख्न, जुवातास रोक्न, नदिजन्य पदार्थको चोरी निकासी नियन्त्रण जस्ता काममा प्रहरी निरन्तर लागि रहेको उहाँले बताउनुभयो ।
चाडपर्वका समयमा कतिपय मानिस घर खाली गरेर बाहिर जाने कारणले चोरीका घटना हुने गरेका छन् । सामाजिक सञ्जालमा आफु घर बाहिर भएको लगाएतका गतिविधिको जानकारी दिँदा समेत चोरीजन्य घटना हुने गरेकाले सर्वसाधारणले आफ्ना गोप्य सूचनाहरु सार्वजनिक नगर्न आग्रह गरिएको छ । कुनै स्थानमा शान्ति सुरक्षामा खलल पुग्ने गरि घटना हुन लागेको जानकारी पाए आफ्नो नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरि सूचना दिन समेत प्रहरी प्रमुख मल्लले आग्रह गर्नुभयो ।








