हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले १ सय ६३ जना पत्रकारको कोरोना र दुर्घटना बिमा गरिदिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा विमा गरिएको हो । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई बिमा पोलेसीको पत्र हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका सहसचिव धर्बेन्द्र दाहाल, कोषाध्यक्ष सुदीप शिवाकोटी लगायतकाको सहभागिता रहेको थियो । कोरोना भाइरस (कोभिड १९) को त्रासका विच पनि अग्रपंत्तिमा खटिएका पत्रकारको एक लाखको कोरोना विमा र दुई लाख रुपैयाँका दरले दुर्घटना विमा गरिएको हो । कोरोना विमा गर्नका लागि पत्रकार महासंघ मकवानपुर साखालाई उपमहानगरपालिकाले एक लाख ५० हजार रुपैयाँ कार्यपालिकाको बैठकले निर्णय गरेर सहयोग गरेको थियो । पत्रकार महासंघ मकवानपुरमा सदस्य रहेका एक सय ३ जना र नयाँ सदस्यताका लागि सिफारिस गरिएका ६० जना पत्रकारको विमा गरिएको अध्यक्ष हुमागाईले जानकारी दिए । एक जना पत्रकारको तीन लाख रुपैयाँका दरले विमा गरिएको हो । विमा गरिएका पत्रकारको कोरोना भाइरस पुष्टी भएमा एक लाख रुपैयाँ र दुर्घटनामा परेर कुनै पत्रकार घाइते भएमा २० हजार रुपैयाँ सम्म उपचार खर्च र मृत्यु भएमा दुइलाख रुपैयाँ प्राप्त गर्ने बिमा कम्पनिले जनाएको छ । हेटौंडाको एभ्रेष्ट ईन्स्योरेन्स कम्पनि लिमिटेड मार्फत विमा गरिएको छ ।








