चितवन । माउण्ट एभरेष्ट वाइनरी प्रालिले उत्पादन गरेको प्रिन्सेस वाइन चितवनको भरतपुरबाट बिक्री शुभारम्भ गरिएको छ । धनकुटाको चौबीसे गाउँपालिका–६ राजारानाीमा रहेको उद्योगबाट उत्पादित प्रिन्सेस वाइनले यसअघि प्रदेश १ र २ मा बिक्री शुरु गरिसकेको भए पनि (शुक्रबार)मात्रै भरतपुरमा एक समारोहकाबीच बिक्री शुभारम्भ गरेको हो ।
चितवनको भरतपुरमा चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघका अध्यक्ष गोविन्द पाण्डेसहितका अतिथिले बिक्री शुभारम्भ गरेका हुन् ।
सो अवसरमा बोल्दै कम्पनीका सञ्चालक विष्णु बास्तोलाले स्वदेशकै उत्पादन फलफूललाई प्रशोधन गर्दै देशमै उत्कृष्ट उत्पादन गरिएको बताए । स्वदेशमै अन्र्तराष्ट्रिय स्वाद र गुणस्तर दिने उद्धेश्यले प्रिन्सेस वाइनको उत्पादन शुरु गरिएको बताए ।
प्रिन्सेस ब्राण्डको बाइन रेड र ह्वाइटमा उपलब्ध रहेको छ । चिसो हावापानी र वातावरणमा फल्ने फलफूलको राजा मानिने किबीलाई प्रशोधन गरी उत्पादन गरिएको वाइनमा अल्कोहलको मात्रा ११ दशमलब पाँच प्रतिशत रहेको उनले जानकारी दिए । वाइन पारखीहरुका लागि प्रिन्सेस वाइन नयाँ स्वादमा उपलब्ध भएको भन्दै उद्योगका अर्का सञ्चालक सीताराम पाठकले हालसम्म बिक्री वितरण भएको बजारमा प्रिन्सेस वाइनलाई रुचाइएको बताए । चितवनका ग्राहकको रोजाइमा समेत प्रिन्सेस वाइन पर्नेमा आफूहरु विश्वस्त रहेको पाठकको भनाइ छ ।
विभिन्न देश तथा विदेशका अनुभवी प्राविधिकहरुबाट वाइन तयार गरिएको पाठकले बताए । प्रिन्सेस ब्राण्डको वाइनको मूल्य ८२५ रुपैयाँ रहेको सञ्चालक करण शाहले बताए । रेड र ह्वाइट कलरमा दुवै वाइन ७५० एमएलमा उपलब्ध छन् ।









