गोरखा । गोरखा धार्चे गाउँपालिकाकी एक महिला १४ किलो ८ सय ग्राम चरेससहित पक्राउ परेकी छन । बारपाक–बाह्रकिलो जोडने सडकखण्डअन्तर्गत अजिरकोट गाउँपालिका वडा नं ५ चनौटेबाट अवैध चरेससहित धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए।
बारपाकबाट छेवेटारतर्फ आउँदै गरेको बा २० च ९३३२ नं को बलेरो पिकअपलाई चेकजाँच गर्ने क्रममा अवैध चरेससहित गुरुङलाई पक्राउ गरिएको दाहालले बताए। उनका अनुसार पहेलो रंगको बोराभित्र प्लास्टिक थैलीमा पोका पोका पारी चरेस लुकाइएको थियो। पक्राउ परेकी गुरुङले आफ्नै जग्गा जमिनमा उब्जिएको लागुऔषध गाँजाबाट आफैँले घरमा चरेसको उत्पादन गरी ल्याएको प्रहरीसँग स्वीकार गरेकी छिन्।
गुरुङको घरमा थप खानतलासी गर्दा ४ सय ग्राम चरेस र जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको दाहालले बताए। पक्राउ परेकी गुरुङलाई लागुऔषध चरेस शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी गोरखा जिल्ला अदालत पठाएको डिएसपी दाहालले जानकारी दिए। घटनामा संलग्नबारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।








