महोत्तरी । विप्लव समूहले मूल्य वृद्धिको विरुद्धमा मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव महोत्तरीमा शून्य देखिएको छ । विप्लव समूहका कार्यकर्ताहरू सडकमा जम्मा भए पनि प्रहरीले निगरानी बढाएका कारण जनजीवन सामान्य बनेको र कुनै पनि क्षेत्रमा बन्दको प्रभाव नदेखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बिहानैदेखि पूर्व-पश्चिम जाने सवारीसाधन निर्वाधरूपमा चलेका थिए भने कलकारखाना तथा व्यापार, व्यवसायमा समेत कुनै प्रभाव देखिएन । केही निजी शिक्षण संस्था बन्द भए पनि सामुदायिक शिक्षण संस्थामा भने पठनपाठन भएको थियो ।
यात्रुलाई कुनै सास्ती नहोस् भन्ने उद्देश्यले प्रहरी बिहानैदेखि सडकमा तैनाथ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।








