देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने पर्यटकीय नगरी घण्टाचुलीमा यहि मंसिर १७ र १८ गते हुन लागेको घण्टाचुली पर्यटन महोत्सव २०७८ को तयारी पूरा भएको छ। स्थानीय लालीगुराँस टोल बिकास संस्थाको भवन निर्माण सहयोगार्थ आयोजना हुन लागीरहेको घण्टाचुली पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको हो।
आज भएको तयारी कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले महोत्सवले पर्यटकीय सम्भावना बोकेको नेपालकै एक ऐतिहासिक शान्त, रमणीय, सधैं हरियाली, हिमाल पहाड तराई अबलोकन गर्न सकिने नेपालकै राष्ट्रिय फुल लाली गुराँस पाईने स्थान घन्टाचुलीको पर्यटन प्रवद्र्धन प्रचारप्रसार हुने बताउनुभयो।
कार्यक्रममा घण्टाचुली सामुदायिक बनका अध्यक्ष डमरसिङ्ग गुरुङ, नेपाल मगर सास्कृतिक संघ बागमती प्रदेशका अध्यक्ष बल बिक्रम थापामगर, कार्यक्रम संयोजक बेल बहादुर गुरुङ, आर्थिक संयोजक कलम गुरुङ र पुर्णीमा थापामगर लगाएतको उपस्थिति रहेकोे थियो भने आयोजक लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष भेष बहादुर गुरुङको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो।









