पोखरा । सीतापुण्य अक्षयकोष सञ्चालक समितिको आयोजनामा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको सभाहलमा आचार्य विश्वानाथकृत, पुण्यप्रसाद भट्टराईद्वारा छायानुवादित चन्द्रकला नाटिकाको लोकार्पण समारोह सम्पन्न भएको छ । उक्त समारोहका प्रमुख अतिथि समालोचक प्रा.डा. रविलाल अधिकारीले संस्कृत साहित्यका सुप्रसिद्ध कवि तथा नाटककार विश्वनाथद्वारा रचित कृतिको नेपालीमा छायानुवाद गरी नेपाली साहित्यमा योगदान पुर्याएकोमा धन्यवाद ज्ञापन गर्दै प्रकाशोन्मुख कृतिले छिटै नै प्रकाशित हुने अवसर पाउन् भन्ने शुभेच्क्षा प्रकट गरेका थिए ।
कार्यक्रममा विशिष्ठ अतिथिको रूपमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका प्रमुख धर्मराज बराल, हेम्जा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष तथा महाकाब्यकार छन्दमणि त्रिपाठी साथै पृथ्वीनारायण क्याम्पस नेपाली विभागका विभागीय प्रमुख नारायणदत्त सुवेदी लगायतका व्यक्तित्वहरुले आसन ग्रहण गरेका थिए । कार्यक्रममा लालमणि पोख्रेलले कृतिको सम्पादनमा खटिएर सम्पादन अनुभुति प्रस्तुत गर्दै श्रष्टा तथा कृति परिचय दिएका थिए । त्यसैगरी सम्पादक श्यामप्रसाद ढुङ्गानाले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठनकी प्राज्ञ छन्दिका त्रिपाठीले आजभन्दा करिव ४० बर्ष अगाडी लेखिएको पुस्तकलाई आज लोकले प्राप्त गर्ने अवसर पाउनु शौभाग्यको कुरा हो, यस अवसर जुटाउन पहल गर्नुहुने अनुवादक पुण्यप्रसाद भट्टराईका सन्तानलाई सुपुत्र सुपुत्री बन्नुभयो भन्दै सीतापुण्य अक्षयकोष सञ्चालक समितिलाई धन्यवाद ज्ञापन गरेकी थिइन । कृति लोकार्पण समारोहमा नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल, छोरेपाटन माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम भुषाल साथै नेपाली काङ्ग्रेस वडा नं. १७ कास्कीका सभापति तथा समाजसेवी देवराज आचार्य लगायतका अतिथिहरूले शुभकामना मन्तब्य दिएका थिए ।
कृति विमोचन कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठनका प्राज्ञ तथा महाकाब्यकार छन्दिका त्रिपाठी, कवि के आर ढकाल तथा प्रेमनारायण ढकालको रचना वाचनले कार्यक्रमको थप शोभा बढाएको थियो । कृति लोकार्पण कार्यक्रम संस्थाका अध्यक्ष विजय भट्टराईको अध्यक्षतामा सम्पन्न भए थियो । कार्यक्रममा भावना भट्टराईले आतिथिहरूलाई स्वागत मन्तव्य राखेकी थिइन् भने सीतापुण्य अक्षयकोषकी सुभद्रा भट्टराईले कार्यक्रम सञ्चालन गरेकी थिइन् । विभिन्न संस्थाको प्रतिनिधित्व भएको उक्त कार्यक्रम करिब ५० जनाको समुपस्थितीमा सम्पन्न भएको थियो ।








