जुम्ला । कर्णाली प्रदेशकै गौरवको आयोजना धौलीगाड बृहत् खानी पानी आयोजनाको बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको छ । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको धौलीगाड बृहत् खानी पानी आयोजनाको बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको हो ।
नेपाल सरकार अर्थ मन्त्रालयको सोमबार भएको मन्त्री स्तरीय निर्णयबाट ‘धौलीगाड बृहत् खानेपानी आयोजना’लाई बहुवर्षीय ठेक्काका लागि सहमति प्रदान गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयको जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाबाट उक्त आयोजना सञ्चालन हुने छ ।
अर्थ मन्त्रालयकी शाखा अधिकृत इन्दिरा दाहालले आयोजनाको कूल लागत अनुमान एक अर्ब २६ करोड आठ लाख ४९० रहेको बताइन् । सो लागत रहेको धौलीगाड बृहत् खानेपानी आयोजनाका बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि खानेपानी मन्त्रालयबाट लेखिएको विषय पेस हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पुरा गरी खरिद प्रक्रिया अघि बढाउन उक्त मन्त्रालयलाई सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै तत्कालीन संविधानसभा सदस्य तथा निवर्तमान कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पहल थालेको धौलीगाड बृहत् खानी पानी आयोजनाको एक दशकपछि निर्माण कार्य हुने पक्का भएको हो ।








