चितवन । चितवनको राप्ती नगरपालिका ९ मा १७ औं धान दिवस मनाईएको छ । कोरोनाको प्रभावका बीच सुरक्षा अपनाएर औपचारिक कार्यक्रम समेत गरि दिवस मनाईएको हो । स्थानीय शिवशक्ती आईपिएम कृषक समुहको आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि राप्ती ९ का वडाध्यक्ष देवेन्द्र लामाले विपदको समय भएपनि किसानलाई प्रोत्साहन गर्नु पर्ने वताए । वडाध्यक्ष लामाले चालु आर्थिक वर्षमा पनि पर्याप्त मात्रामा किसान लक्षित कार्यक्रम गरिएकोमा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासलाई कम प्राथमिकता दिएर कृषि र पशुपालनलाई प्राथमिकता दिएको जानकारी दिए । उत्तराखण्डमा पर्ने राप्ती ९ सिंचाई अभाव रहेको क्षेत्र हो । एक वाली मात्र धान खेती हुने यो क्षेत्रमा ५ वटा बोरिङ निर्माण गरिसकेको उनले वताए । राप्ती नगरपालिका कृषि,पशु तथा सहकारी शाखा प्रमुख शैलेन्द्र भण्डारीले अन्य वडाको तुलनामा राप्ती ९ ले कृषि र पशुपालनको क्षेत्रमा सुरु देखीनै पर्याप्त मात्रामा वजेट विनियोजन गर्दै आएको वताए । कृषि शाखा प्रमुख भण्डारीले किसानलाई खुसी पार्न नसकेसम्म देशको विकास संभव नहुने धारणा राखे । शिवशक्ती कृषक समुहका अध्यक्ष काजी खत्रीको अध्यक्षतामा भएको कार्यक्रमपछि वडा सदस्य विजया देवकोटा लगायतको उपस्थितिमा रोपाई गर्नुका साथै हिलो खेलेर धान दिवस मनाईएको थियो ।








