चितवन । भरतपुर अस्पतालमा डायलायसिस मेसिन थप गरिएको छ । अस्पताल बिकास समितिले पौष १ गते बिहीबार थप तीन वटा डायलायसिस मेसिन जडान गरेको हो । यससँगै अब अस्पतालले १२ वटा मेसिनबाट डायलायसिस सेवा दिने भएको छ । थप मेसिन जडान भएसँगै बिरामीहरुलाई डायलायसिसका लागी सहज हुने अस्पतालका प्रवक्ता डा. युवानिधि बसौलाको विश्वास छ ।
अस्पतालमा डायलायसिस गराउन आउने बिरामीहरुलाई छिटो सेवा प्रदान गर्नका लागि मेसिन थप गरिएको उनले बताए । “अस्पतालमा डायलायसिस गराउन आउँदा लामो समय पालो कुर्नु पर्ने हुन्थ्यो । त्यसैले अस्पताल बिकास समितिबाट निर्णय गरेर मेसिन थप गरिएको छ, उनले भने, अब सेवा छिटो हुन्छ । पहिलेको जस्तो लामो समय पालो कुर्नु पर्दैन ।”
अस्पतालका सुचना अधिकारी गोपाल पौडेलका अनुसार अब दैनिक ३० जना भन्दा बढीलाई सजिलै डायलायसिस सेवा दिन सकिनेछ । यस अघि अस्पतालमा दैनिक २१ देखि २४ जनाले डायलायसिस सेवा पाउदै आएका थिए । यस्तै अस्पतालले डायलायसिसका लागि आउने विपन्न बिरामीहरुलाई रजिष्ट्रेशन निस्शुल्क गर्ने निर्णय पनि गरेको छ ।
१ गतेबाट नै लागु हुने गरी उक्त निर्णय गरिएको हो । यस अघि डायलायसिसका लागि पाँच हजार रजिष्ट्रेशन शुल्क लाग्ने गरेको थियो । रजिष्ट्रेशन निस्शुल्क भएसँगै विपन्न बिरामीहरुलाई ठूलो राहत मिल्ने सूचना अधिकारी पौडेलको भनाइ छ । रजिष्ट्रेशनसँगै डायलायसिसको शिलशिलामा गरिने बिभिनन परीक्षण शुल्क पनि मिनाहा गरिएको उनले बताए ।
यस अघि यि सबैमा शुल्क लाग्ने गरेको थियो । भरतपुर अस्पतालमा डायलायसिसका लागि चितवनसँगै मकवानपुर, बारा, पर्सा, रौतहट, नवलपुर, गोरखा, लम्जुङ, पर्वतलगायत २७ भन्दा बढी जिल्लाबाट बिरामीहरु आउने गरेका छन् । एकजनाको डायलायसिस गर्दा ३ देखि ४ चार घण्टासम्म लाग्छ ।








