बिहीबार बिहानैदेखि हल्का वर्षासहित हिमपात सुरु भएसँगै जिल्लाको उच्च भूभागमा जनजीवन प्रभावित बनेको हो । खासगरी हिउँका कारण बालबालिका र जेष्ठ नागरीक, पशुचौपाय मारमा परेका छन् ।
किसानहरू कामका लागि घरबाहिर निस्कन सकेका छैनन् । हिमाली क्षेत्रमा बाक्लो हिमपात परेपछि हिउँ खेल्नेहरुको चहलपहल बढेको छ । काठमाडाैं र नजिकको बजारबाट हिँउ खेल्नेहरू आउन थालेको मुडेमा होटल व्यवसाय सञ्चालन गर्दै आएका विनोद तामाङले बताए ।
यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि हिउँ परेको छ । भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागीडाँडा आसपासमा हिउँ परेको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका माइते तामाङले भने, ‘बाहिर निस्किन सक्ने अवस्था छैन, बच्चा र बुढा आमाबुवालाई निकै गाह्रो भएको छ ।पशुचौपायलाई के खुवाउने कसरी जोगाउने भएको छ । घरको छानादेखि सडक, वनजंगल हिउँले ढाकेर सेताम्यै बनेका छन् ।’
शेर्माथानमा तीनदेखि चार इन्चसम्म हिउँ परेको छ । हिउँ परेपछि कोही फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न आतुर छन् भने कोहीलाई दिन बिताउन कष्ट भएको छ । हिमपात सुरु भएपछि सिन्धुपाल्चोकमा पनि चिसो बढेको छ ।








