हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनलाई पक्राउ गरेको छ । बिहिबार जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ स्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट लागूऔषध गाँजा ४५ किलोसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका वडा नम्वर २ बस्ने ४२ वर्षीय भक्तबहादुर थापा मगर र मनहरी गाउँपालिका वडा नम्वर ५ बस्ने ४१ वर्षीय हिरालाल गुरुङ्ग रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
दिउँसो शंकास्पद रुपमा पिढ्युमा भारी बोकी हिडिरहेका उनीहरुलाई रोकी चेकजाँच गर्दा सो परिणामको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार, पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।








