काठमाडौँ । विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान आजदेखि सञ्चालन गरेको छ । महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा रेलबाट विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि नोबेल कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लागि सचेतनाका लागि उक्त अभियान सञ्चालन गरेको हो ।
भारतीय रेल्वेको स्थानीय कर्मचारीको समन्वयमा सचेतना तथा सर्तकता अभियान सञ्चालन गरिएको महानगरपालिकाका कार्यवाहक प्रमुख इन्दिरा कार्कीले बताउनुभयो । उहाँले सचेतनाका लागि सम्पूर्ण पूर्वतयारी गर्न १९ वटा वडाका अध्यक्ष सम्मिलित समन्वय टोली गठन गरिएको जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको नेतृत्वमा गठन गरिएको टोलीमा नगरका सबै महाशाखाका प्रमुखहरु रहनुभएको छ । भाइरसको सङ्क्रमण नहोस् भन्नका लागि सर्तकता अपनाउन टोली गठन गरिएको आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।








