चितवन ।
जिल्ला प्रहरी कार्यालय चितवनले चोरीको आरोपमा ६ जना पक्राउ गरेको छ । फागुन २३ गते भरतपुर २ स्थित मञ्जु खाँडको घरबाट सुनचाँदी गरगहना र नगद समेत गरी १४ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा ५ जना भारतीय नागरिक रहेका छन् ।
भारत मोतीहारीका नेहाल तिवारी, रितिक रोशन, बिक्की कुमार गुप्ता, भारत हरियाणपुरका राजन कुमार उपाध्याय, सोनुकुमार पाण्डे र वीरगञ्जका २५ बर्षिय राजकुमार गुप्तालाई चोरीको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । चोरी भएको जानकारी भएपछि राजन, रितिक, नेहाल, सोनुकुमारलाई फागुन २४ गते नै नारायणगढबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । बिक्की र राजकुमारलाई पर्सा प्रहरीसंगको समन्वयमा फागुन २५ गते पक्राउ गरिएको हो ।उनिहरुको साथबाट सुनको औठी १, नथिया १, जिउटिया ३, मंगलसुत्र १, सानो नथुनी ८, फुली १ समेत गरी २२।४५० ग्राम सुनका गरगहना, ४ सय ८७ ग्राम भएको चाँदीको पाउजु ४ जोर, २ थान मोवाईल प्रहरीले बरामद गरेको छ ।चोरी गरेको सुन बिक्की गुप्ताले लिई बीरगञ्जमा सुनचाँदी पसलमा गरी बस्ने राजकुमार गुप्तालाई बिक्रि गरेको खुल्न आएको प्रहरीले बताएको छ । 
उनिहरुले चितवनको अन्यत्र स्थानमा समेत धनमाल चोरी गरेको हुन सक्ने देखिएकाले सो सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिनुभयो ।चोरी गर्नका लागि हेक्सा ब्लेडको फ्रेम, विभिन्न चक्कुहरु ५, हथौडा, रातो रंगको धोती, पिंक कलरको कुर्ता, शंक जस्ता सामानहरु प्रयोग गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।चोरी आरोपमा पक्राउ परेका नेहाल तिवारीका बाबु पण्डित हुन् ।
खाँडले फागुन २० गते पुजा लगाउन तिवारीलाई बोलाउनुभएको थियो ।चोरी गर्ने व्यक्तिलाई ५ बर्ष देखि १० बर्ष सम्म कैद ५० हजार देखि १ लाख सम्म जरिवाना र चोरीको धनमाल खरिद गर्ने व्यक्तिलाई ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाँय हुने व्यवस्था रहेको छ ।यस्तै, सट्टेबाजी गरेको आरोपमा एक जना प्रक्राउ परेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा चितवनका विभिन्न ठाउँहरुमा मानिसहरुले लुकिछिपि सट्टेबाजी गरेको अरोपमा बारा कलैयाका अनिल शाह सोनीलाई पक्राउ परेका हुन् । उनीलाई प्रहरीले यही फागुन २१ गते पक्राउ गरेको हो ।








