चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वास्थ्य चौकी पार्वतीपुरको नयाँ भवनको शिलान्यास गर्नुभएको छ । बुधबार नै महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा स्वास्थ्य चौकी भवन (एचपी टु टाइप)को शिलान्यास गर्नुभएको हो । भवन शिलान्यासका क्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिकाभित्र ठूला र रणनीतिक महत्वका आयोजनाहरु द्रूत गतिका साथ अगाडि बढिरहेकोमा जोड दिँदै विकासमा सबैको साझेदारी र अपनत्व हुनुपर्ने बताउनुभएको छ । चार सय वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने दुई तले भवनमा अत्याधुनिक सुविधाहरु समेत रहनेछन् । सो भवन आगामी मंसिरभित्र सम्पन्न गर्नेगरि ७९ लाख ७६ हजार ९९१ रुपैयाँमा ठेक्का सम्झौता भएको भरतपुर महानगरपालिकाका इन्जिनीयर सन्तोष आचार्यले जानकारी दिनुभयो ।








