मनकामना । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शकरहरी आचार्यको नेतृत्वमा मंगलबार बसेको वैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै यस अघि बन्द गरिएका मनकामना मन्दिर खुल्ला गर्ने निर्णय गरेका हो ।
फागनु १ गतेबाट मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालन गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न पाउने वैठकले निर्णय गरेको छ । कोरोनाको जोखिमबढेसँगै भिडभाड नियन्त्रण गर्नका लागि माघ ६ गते मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको थियो । यो अवधिमा भक्तजनहरु मन्दिर बाहिरबाट नै दर्शन गरेर फर्कने गरेको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए ।
मन्दिर खुलाउने निर्णय भएसँगै मनकामना मन्दिर दर्शन गर्न आउने भक्तजनहरु बढ्ने उनले बताए । गुरुङका अनुसार मनकामना मन्दिरमा दैनिक एक हजार भन्दा बढी भक्तजन मन्दिर दर्शन गर्न आउने गर्दछन् । विदाको दिन अझ यो संख्या बढी हुन्छ । कोभिड जोखिम रहेता पनि मनकामना केवलकार भने संचालनमा रहेका छन् ।
मनकामनाका स्थानीयहरु आउजाउ गर्न र मन्दिरबाहिरबाट पुजापाठ गर्ने भक्तजनको सजिलोका लागि केबलकार नियमित संचालनमा रहेको बताइएको छ ।








