नवलपुर । पूर्वी नवलपरासी जिल्लामा माध्यामिक शिक्षा परीक्षा (एसईई)को आन्तरिक मूल्यांकनको काम सकिएको छ । जिल्लाका सबै विद्यालयहरुबाट आन्तरिक मूल्यांकन पठाइसकेको र जिल्ला शिक्षा समन्वय इकाइले पनि त्यसको रुजु गर्ने काम सम्पन्न गरिसकेको इकाइ प्रमुख कृष्णचन्द्र पोखरेलले जानकारी दिनुभयो । गत चैत ६ गते गर्ने तयारी गरिएको एसईई एक दिनअघि स्थगित गरिएको थियो । विश्वब्यापी बनेको कोरोना भाइरस संक्रमण फैलिने डरले सरकारले परीक्षा शुरु हुनुभन्दा एक दिनअघि स्थगित गरी आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो । नवलपुरबाट ७८ वटा सामुदायिक, ४९ वटा निजी, ५ वटा प्राविधिक र एउटा खुल्ला विद्यालय गरी एक सय २८ वटा विद्यालयका ६ हजार ५ सय ४२ विद्यार्थी एसईईको तयारीमा थिए । जसमध्ये, नियमिततर्फ ६ हजार चार सय ५२ र एक्जाम्टेटतर्फ १ सय ९ जना छन् । एसईई परीक्षाका लागि नवलपुरमा २५ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।








