चितवन । विदेशबाट घर फिर्ता आएका ४० जनालाई भरतपुर वडा नं। १६ ले क्वारिन्टिनमा राखिएका छन् । उनीहरु सबैलाई भरतपुर महानगरको समन्वयमा १४ दिने क्वारिन्टिनमा राखिएको वडा अध्यक्ष अमृतराज हमालले जानकारी दिए । वडा अध्यक्ष हमालका अनुसार पुरानो गाविस भवनमा १५ जना, रेडक्रस भवनमा ४ जना र होम क्वारेन्टिनमा २१ जना रहेका छन् । उनले भने, विदेशबाट आउनेहरु केही घरकै होम क्वारेन्टिनमा बस्छौं, सबै मापदण्ड अनुसार गर्छौँ भने पश्चात् वडाकै निगरानीमा व्यवस्थापन गरिएको बताए । वडा नं. १६ कै मातहतमा रहेको पुरानो गाविस भवनमा सोमबार गरिएको स्वाब परीक्षणमा कुवेत र दुबईबाट आएका २ जनामा पोजेटिभ देखिएको र उनीहरुलाई भरतपुर आइसोलेसनमा पठाइएको उनले बताए । उनीहरु बैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका हुन् । ¬यसअघि पनि कोरोना पोजेटिभ देखिएकालाई भरतपुर अस्पताल पठाइसकिएको उनले भने । विदेशबाट फर्किनेहरु आज सोमबार पनि तीन जना थप हुँदैछन् भने उनीहरु दुई जना भारत र एक जना जापानको भएको उनले बताए । भोलि मंगलबार ८ जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको छ । अन्यको अवस्था सामान्य देखिएको छ भने ८ जनामा कोरोना भाइरसको लक्षण देखिएकाले परीक्षण गर्न लागेको उनको भनाइ छ । हालसम्म वडा नं। १६ मा पुरानो गाविस भवनमा १५ सिट, रेडक्रस भवनमा ७ सिट र चारपाते युवा समाज विजयनगरमा १३ सिट क्षमताको बेड तयार गरिएको छ । अरु सिट क्षमता थप गर्ने व्यवस्थापन भइरहेको उनले बताए ।








