काठमाण्डौ । सरकारले यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गिता कौशल मिश्राले १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जानकारी दिनुभयो ।
उहाँले १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप अभियानमा १ मात्रा र त्यसपछि नियमित खोप कार्यक्रममा यो खोप समावेश गरिने बताउनुभयो । उहाँले नेपालबाट टाइफाइड रोगको सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यमा देशभर एकैसाथ खोप अभियान सुरु गर्न लागिएको बताउनुभयो ।
समुदायमा टाइफाइड रोगविरुद्धको रोग प्रतिरोधात्मक क्षमता बढाउन अभियानको समयमा खोपको पहुँच ९५ प्रतिशत पु¥याउनुपर्ने भएकाले सबैलाई खोप अभियानमा लाग्न पनि सरकारले आग्रह गरेको छ । नेपालमा टाइफाइडविरुद्धको खोप पहिलो पटक लगाउन थालिएको हो ।








