काठमाडौं । चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले हरिशरण खड्कालाई पुर्पक्षका लागि थुनामा राख्न मोरङ कारागार पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधिस मेदिनी प्रसाद पौडेलको १ नं. इजलाशमा मंगलबार भएको थुनछेक बहस पछि काभ्रेका खडकालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको मोरङ जिल्ला अदालतका श्रेष्तेदार इश्वरमणि ओझाले जानकारी दिनुभयो । रेडकर्नर नोटिस जारी गरिएका खड्कालाई दुबईबाट नेपाल ल्याइएको थियो । उनको पिसिआर परिक्षण पछि मंगलबार थुनछेक बहस गरिएको थियो । सो प्रकरणमा अझै २५ जना फरार छन् । उनीहरुको पनि रेडकर्नर नोटिस जारी गरिएको छ । तस्करीको सुन गायब भएपछि गोरे भनिने चुडामणि उप्रेती समूहले यातना दिएर २०७४ साल फागुन १९ गते सनम शाक्यको हत्या भएपछि सुन तस्करीको घटना सार्वजनिक भएको थियो ।








