सप्तरी । कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिबाट समुदायमा संक्रमण फैलिएको आशंकापछि जिल्ला प्रशासन कार्यालय सप्तरीले सदरमुकाम राजविराजमा अनिश्चितकालीन निशेधाज्ञा लगाएको छ। प्रशासनले आज बिहान ५ बजेदेखि अनिश्चितकालीन निशेधाज्ञा जारी गरेको हो। कोरोनाभाइरस संक्रमणबाट सप्तरीमा हालसम्म ४०४ जना संक्रमित भएको र एक जनाको मृत्यु भएकाले संक्रमण रोकथामका लागि निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। राजविराजका एक कोरोना संक्रमितको १ साउनमा मृत्यु भएको थियो। उनको राजविराज बजारमा पसल थियो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता जयकुमार घिमिरेका अनुसार मृत्यु भएका व्यक्तिका परिवारका सदस्य र कामदारमा पनि संक्रमण देखिएको छ। परिवारका सदस्य र कामदार कति जनालाई संक्रमण भएको प्रशासनले खुलाएको छैन। ट्रेसिङ कन्ट्याक्ट जारी रहेकाले थप संक्रमित फेला पर्न सक्ने बताइएको छ। घिमिरेले भने, “मृत्यु भएका व्यक्तिको पसलमा को र कति मान्छे आएका थिए भन्ने ट्रेसिङ गर्नु पर्ने भयो। अस्पतालमा काम गर्ने स्वीपर र नर्समा पनि संक्रमण देखियो। त्यसकारण संक्रमण फैलन नदिन निशेधाज्ञा जारी गरिएको हो।” ती व्यक्तिको सम्पर्कमा आएकामध्ये १४ जनाको परीक्षण गर्दा अधिकांशमा ‘पोजेटिभ’ देखिएको उनले बताए। अहिलेसम्म उनको सम्पर्कमा पुगेको पत्ता लागेका अरु १३्१४ जनाको पनि स्वाब परीक्षणमा पठाएको उनको भनाइ छ। निशेधाज्ञापछि मृतकको सम्पर्कमा आएका र अन्यको थप खोजी गरी परीक्षण गरिने घिमिरेले बताए। कफ्यूमा अत्यावश्यक सेवाका सवारी चलाउनेलाई पनि स्वास्थ्य सुरक्षाका उपकरण प्रयोगमा अनिवार्य गर्न भनिएको छ।








