काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (बिहिबार)को मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा पश्चिमि भू(भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू(भागमा नेपाल नजिक रहेको अवस्था छ। देशभर आँशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भईरहेको जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै, राती देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।








