१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने पक्का भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले आईपीएल २०२० मा यूएईमा हुने पुष्टि गरेका हुन् ।
अर्को बैठकमा आपचारिक रूपमा घोषणा गर्ने पटेलले क्रिकइन्फोलाई बताएका छन् । यद्यपि प्रतियोगिताको मितिबारे भने निर्णय भइसकेको छैन । आईपीएल २६ सेप्टेम्बरदेखि ७ नोभेम्बमा गर्ने तयारी भइरहेको छ । पटेलका अनुसार आईपीएलका खेल दुबई, आबुधावी र शारजाहमा हुनेछन् । भारतीय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल तालिकाअनुसार आईपीएल नोभेम्बर ७ सम्म सक्नुपर्ने हुन्छ । भारतको डिसेम्बर पहिलो साता देखि अस्ट्रेलियामा चार टेस्ट सिरिज खेल्ने कार्यतालिका छ । १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।
‘हामी टी–२० विश्वकप आईसीसीबाट औपचारिक स्थगितको पर्खाइमा थियौं । हामीले भारत सरकारसँग अनुमतिका लागि निवेदन दिएका छौं र अनुमति पाउनुपर्छ,’ उनले भने । आईपीएल अप्रिलमा हुने तय थियो । तर, कोरोना भाइरसको महामारीको कारण अनिश्चित समयसम्मका लागि सरेको थियो । आईपीएल देशबाहिर तेस्रोपटक हुन लागेको हो । यसअघि २००९ मा आमनिर्वाचनको कारण पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो । २०१४ मा आमनिर्वाचनको कारण यूएईमा आईपीएलका २० खेल भएका थिए ।
सोमबार आईसीसी बैठकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण आगमी अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकप एक वर्षका लागि सरेको जनाएको थियो । त्यस्तै, यसअघि नै सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको एसिया कप टी–२० प्रतियोगिता पनि सरेसँगै आईपीएल गर्न बाटो खुलेको थियो ।








