चितवन : विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण विभिन्न सिमानाकामा कडाई गरेसँगै बजारमा खाद्यान्नको अभाव हुने हल्ला चलेपछि प्रशासनले बजारमा अनुगमन गरेको छ । बजारमा खाद्यान्न अभाव हुने हल्लासँगै व्यापारीहरुले कालोबजारी गर्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आज बजार अनुगमन गरेको हो । पूर्विचितवनको विभिन्न पसलमा पुगेर अनुगमन गर्दा नुन , तेल , चामल लगायत अन्य खाद्यान्नको कुनैपनि अभाव नरहेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत इश्वर सिंखडाले जानकारी दिए । बजारमा जुन किसिमको हाहाकार जस्तो मच्चाइएको छ, त्यो गलत हो ग्याँसमा भने पहिलाको तुलनामा माग एक्कासी बढेको छ । ,’ उनले भने, ‘आउनुपर्ने ग्यास आइरहेको छ, आत्तिनुपर्दैन सहजै मात्रामा ग्यास पाउन सकिन्छ’, । जिल्ला प्रशासन कार्यालय , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय , प्रहरी , पत्रकारसहितको संयुक्त अनुगमन टोलीले रत्ननगर , खैरहनीको विभिन्न ग्याँस डिपो , किरानाको होलसेल तथा खुद्रा पसलमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा खैरहनी ६ मा रहेको श्याम किराना स्टोर्स र निर्भाना इन्टरप्राइजेजमा भण्डार अस्तव्यस्त र फोहोर भएकाले २० दिनभित्र व्यवस्थीत र सरसफाई गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमखु खाद्य निरिक्षक विक्की राउतले जानकारी दिए । अनुगमनको क्रममा सबै पसलमा सिसि क्यामरा जडान गरिएको तर त्यसको जानकारी सम्बन्धि कार्यालयहरुमा नगराएको पाइएकोले तत्काल सम्बन्धित कार्यालयमा जानकारी दिन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत सिंखडाले बताए । त्यस्तै रत्ननगरको जे के साइकल स्टोर्सले संचालन गरेको ग्याँस डिपोमा आगोलागि हुदाँको बेला आगो नियन्त्रणमा लिने यन्त्र राख्न निर्देशन दिइएको छ । टोलीले जयमालक्ष्मी ट्रेडर्स , बद्री इन्टरप्राइजेज , सम्पदा इन्टरप्राइजेज , जय सन्तोषीमा किराना पसल , लालीगुरास इन्टरप्राइजेज लगायतमा अनुगमन गरेका थिए ।








